Tuesday, November 13, 2012

रविन्द्र रिजालका कविता

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
 म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ मन पोखिएको कुनोनेर
 आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
 एउटा वृत्त - सम्वृद्द आकार दिन खोज्दै थिएँ ।
 कलियुगका कुरालाई, कनिकुथीको साहित्यले
ड्कार्दै, शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ
, मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
 एक चोटि पढ्नै पर्ने,
 लेख्नै पर्ने कुनै कथालु खसखसले उक्साइरहेको थियो,
 फेरि सोचेँ साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
 तै पनि छैमलेको बबुरो र पाँचथरे साईँलोका अभिव्यक्तिसँग बहकिँदा
, जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
 कुनै घायलका तरही मुसायरा जस्तै,
 मेरा यात्राका सुस्केराहरू,
 डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
 प्रतिबिम्बित हुँदै,
 पानीफोटोमा टिल्पिलाउँदै थिए,
 मानौँ - कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
 यस्तो समय र परिवेशमा,
 म जस्तो भाते चोरलाई साइबर चौतरीका गफगाफ
, प्रदीप, अर्चना, सुशील, अञ्जलि,
 प्रवेश वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
 नेपाली ब्लगर र नेपालीका गन्थन पढ्दैमा,
 दुर्जेय चेतना प्राप्त भो भनेर,
 भो न-कुरा गरम, किनकि म बुझ्छु,
 घर आँगन छोडेर, बाईरोडको बाटोमा निस्केपछि आफू
  सडकका अभिलेखको पात्र भइन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
 र यो? यो त फगत् युटोपिया को खोजीमा हिँडेको यात्राको
, एउटा अन्त्यहीन शुरुवात हो।

No comments:

Post a Comment