जिउनु एउटा अपरिहार्य हो
जिउनु एउटा बाध्यता
हो
यस्तै जिवाइभित्र
जिउँदैछ
त्यो टुहुरो केटो ।
भत्किएका मनहरुमा
हराएको अलिकति
उज्यालो खोज्दै
समयले कोर्रा हानेका
जीवनहरुमा
हराएको अलिकति वसन्त खोज्दै
जिउँदैछ त्यो टुहुरो
केटो ।
आफैभित्र आफै हराएर
आफ्नै भोगाइसित
बिसञ्चो जिन्दगी बोकेर
अपांग आकांक्षाहरु
इन्द्रेनी रहरहरु
रातमा सपना ओछ्याएर
दिनमा विपना ओडेर
जिउँदैछ त्यो टुहुरो
केटो ।
पीडाको पोखरीमा
चुर्लुम्म डुबेर
दुःखका अनगन्ती पहाडहरु
बोकेर
कहीँ कतै बिहानी
पलाउँछ कि भनी
कहीँ कतै घाँम लाग्छ कि
भनी
जिउँदैछ त्यो टुहुरो
केटो ।
जलाएर आफ्ना रंगीन
सपनाहरु
भोग्दा भोग्दै जीवनका
दुखाइहरु
आफ्ना मनभरि सजाएर
नदी जत्रै आँसु बगाएर
नयाँ क्षितिजको
प्रतीक्षामा
जुनेली रातको खोजीमा
जिउँदैछ त्यो टुहुरो
केटो ।।
No comments:
Post a Comment