Monday, November 19, 2012

त्यो टुहुरो केटो - तरुण राई




जिउनु एउटा अपरिहार्य हो
जिउनु एउटा बाध्यता हो
यस्तै जिवाइभित्र जिउँदैछ
त्यो टुहुरो केटो ।
भत्किएका मनहरुमा
हराएको अलिकति उज्यालो खोज्दै
समयले कोर्रा हानेका जीवनहरुमा
हराएको अलिकति वसन्त खोज्दै
जिउँदैछ त्यो टुहुरो केटो ।
आफैभित्र आफै हराएर
आफ्नै भोगाइसित बिसञ्चो जिन्दगी बोकेर
अपांग आकांक्षाहरु
इन्द्रेनी रहरहरु
रातमा सपना ओछ्याएर
दिनमा विपना ओडेर
जिउँदैछ त्यो टुहुरो केटो ।
पीडाको पोखरीमा चुर्लुम्म डुबेर
दुःखका अनगन्ती पहाडहरु बोकेर
कहीँ कतै बिहानी पलाउँछ कि भनी
कहीँ कतै घाँम लाग्छ कि भनी
जिउँदैछ त्यो टुहुरो केटो ।
जलाएर आफ्ना रंगीन सपनाहरु
भोग्दा भोग्दै जीवनका दुखाइहरु
आफ्ना मनभरि सजाएर
नदी जत्रै आँसु बगाएर
नयाँ क्षितिजको प्रतीक्षामा
जुनेली रातको खोजीमा
जिउँदैछ त्यो टुहुरो केटो ।।


Tuesday, November 13, 2012

रविन्द्र रिजालका कविता

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
 म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ मन पोखिएको कुनोनेर
 आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
 एउटा वृत्त - सम्वृद्द आकार दिन खोज्दै थिएँ ।
 कलियुगका कुरालाई, कनिकुथीको साहित्यले
ड्कार्दै, शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ
, मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
 एक चोटि पढ्नै पर्ने,
 लेख्नै पर्ने कुनै कथालु खसखसले उक्साइरहेको थियो,
 फेरि सोचेँ साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
 तै पनि छैमलेको बबुरो र पाँचथरे साईँलोका अभिव्यक्तिसँग बहकिँदा
, जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
 कुनै घायलका तरही मुसायरा जस्तै,
 मेरा यात्राका सुस्केराहरू,
 डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
 प्रतिबिम्बित हुँदै,
 पानीफोटोमा टिल्पिलाउँदै थिए,
 मानौँ - कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
 यस्तो समय र परिवेशमा,
 म जस्तो भाते चोरलाई साइबर चौतरीका गफगाफ
, प्रदीप, अर्चना, सुशील, अञ्जलि,
 प्रवेश वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
 नेपाली ब्लगर र नेपालीका गन्थन पढ्दैमा,
 दुर्जेय चेतना प्राप्त भो भनेर,
 भो न-कुरा गरम, किनकि म बुझ्छु,
 घर आँगन छोडेर, बाईरोडको बाटोमा निस्केपछि आफू
  सडकका अभिलेखको पात्र भइन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
 र यो? यो त फगत् युटोपिया को खोजीमा हिँडेको यात्राको
, एउटा अन्त्यहीन शुरुवात हो।

पहाड़ अनि यो मन - विजय सुब्बा

खड़ेरी पहाड़
अनि डढ़ेलो मनहरू
जल्दैछन् निरन्तर!
डढ़ेर मनबाट विश्वासहरू
जलेर तनबाट आस्थाहरू
जॉंदैछन् निरन्तर
सर्वस्व जलेर|
अट्टालिका भवनहरू त
चिस्याइन्छ "एसी"द्वारा
चिसिएका मनहरू
वियर र ह्विस्कीका चुस्कीहरूले
तताइन्छ सॉंझमा
तर .............
पहाड़ी कन्दराका फुसका झुप्राहरूमा
के डढ़ेन र? के जलेन र?
जलेर मनबाट स्वाभिमानहरू
डढ़ेर परिवेशबाट आस्थाहरू
बलेर हुरहुरती अनुशासनहरू
विध्याश्रमबाट/परिवेशबाट
धूवॉं भै आकाशमा मिले|
खरानी भै धरतीमा बिले|
अझै बल्दैछ परिवेश
नैतिकता जल्दैछ
सदिच्छा बल्दैछ
डढ़्दैछ निरन्तर/हुरहुरती बल्दैछ|
खै के रह्यो र बॉंकी
जल्नलाई
सद्भावना र मानवता त अघिबाटै
सर्वस्व खरानी भइसके
योग्यताका प्रमाण-पत्रहरू पनि
प्रतिभाहरूका हॉंचसितै
जल्नलाई तयार छन्?
खै के महत्व र यीहरूको
हाम्रो बचाइँमा
विद्यमान कहालीलाग्दो परिवेशमा|
खै के डढ़ेन र?
डढ़ेर सिन्दूर सिउँदोबाट
विधवाको
फुटेर भाग्य चकनाचूर
अनाथहरूको
अस्मिता र अस्तित्वको कथा
मात्रै परी कथा भए|
जलेर हरियापनहरू
स्वार्थका दाउराहरूले
नाङ्गै भएको पखेरा हुँदो
कस्तो सप्रेको कुष्ठाको खेती!
कस्तो सप्रेको स्वार्थको खेती!
विश्वास डढ़ेर/नीति जलेर
खङ्गार भएको छ
शान्त तर अन्योल बस्तीहरूमा
रम्य परिवेशमा
मनोहरी, मादकता पहाड़को
महकता सुनाखरी र सयपत्रीको
स्वार्थको दुर्गन्धमा कता विलीन भो?
बस धूवॉं छ/आगो छ/खरानी छ
डढ़्दैछ सर्वस्व
\यो तन
यो मन
यो चिसो पहाड़॥