Sunday, September 3, 2023

दुइ दिने 'हायमनदास राई किरात जन्म शतवार्षिकी संगोष्ठी' गोरूबथानमा सफलतापूर्वक समापन....

 साहित्य अकादमी नयाँ दिल्ली अनि साझा साहित्य संरक्षण संस्था को संयुक्त आयोजनमा आयोजित संगोष्ठी


सौराज
 राई, गोरूबथान, २ सितम्बर २०२३ : साहित्य अकादमी नयाँ दिल्ली अनि साझा साहित्य संरक्षण संस्था गोरूबथानको संयुक्त आयोजनमा आयोजित दुइ दिने 'हायमनदास राई किरात जन्म शतवार्षिकी संगोष्ठी' आइतबार समापन भयो। संगोष्ठीमा उपस्थित साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परमार्श समितिका संयोजक शंकरदेव ढकालले उक्त दुइ दिने संगोष्ठी अर्थपूर्ण ढंगमा सफल बनेको घोषणा गर्दै आगामी वर्षदेखि गोरूबथानलाई अकादमीबाट दुइवटा कार्यक्रम दिइने जानकारी गराए। त्यसरी नै हायमनदास राई किरातका सम्पूर्ण कृतिहरूलाई एक ग्रन्थको रुपमा प्रकाशित गरिने घोषणा गर्दै यसको प्रकाशन गर्ने अभिभारा आफुले लिने बताए। अर्कोतिर दुइ दिने संगोष्ठीमा प्रस्तुत गरिएका १३ जनाको कार्यपत्रलाई साहित्य अकादमी नयाँ दिल्लीले पुस्तकको रुपमा प्रकाशित गर्ने पनि अवगत गराए।

आफ्नो अति व्यस्तताबीच पनि गोरूबथान आइपुगेका संयोजक ढकालले सहआयोजक साझाले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गरेर अकादमीको कार्यक्रम सफल बनाएकोमा बधाई दिँदै अकादमीको पक्षबाट आभार प्रकट गरे।
दोस्रो दिनको संगोष्ठीको पहिलो सत्रको अध्यक्षता वरिष्ठ साहित्यकार प्रदीप गुरुङले गरेका थिए। यस सत्रमा कालेबुङबाट हिरा छेत्रीले 'हायमनदास राई किरातका कथाहरूमा ग्रामीण जीवन', डा इन्द्रबहादुर छेत्रीले 'हायमनदास राई किरातका कथाहरूका प्रवृत्ति', मन नारायण प्रधानले 'उपन्यासकारको रुपमा हायमनदास राई किरात' शीर्षकमाथि आ-आफ्नो कार्यपत्र प्रस्तुत गरे।
त्यसरी नै साहित्यकार गुमानसिंह राईले अध्यक्षता गरेको दोस्रो सत्रमा उत्तर बंगाल विश्वविद्यालयका पूर्व प्राध्यापक डा नरेश चन्द्र खातीले 'हायमनदास राई किरातका कथाहरूको भाषिक अध्ययन', दार्जिलिङ सरकारी महाविद्यालयकी प्राध्यापिका डा सुजाता रानी राईले 'किरातका कथामा किराती संस्कृतिको अध्यायन', वरिष्ठ साहित्यकार उदय थुलुङले 'हायमनदास राई किरातका कथाहरूमा सामाजिक चेतना' शीर्षकमाथि कार्यपत्र प्रस्तुत गरे। अर्कोतिर अन्तिम सत्रको अध्यक्षता वरिष्ठ साहित्यकार विलियम फिपन सोल्टीले गरेका थिए। जसमा गोरूबथान कलेजका प्राध्यापक डा ज्ञानेन्द्र याक्सोले 'हायमनदास राईका साहित्यिक सामाजिक व्यक्तित्व', बागडोग्रा कलेजकी प्राध्यायपिका सरिता समदर्शीले 'कविका रुपमा हायमनदास राई किरात', वरिष्ठ साहित्यकार वसन्त थापाले 'शताब्दी पुरुष हायमनदास राई किरात' शीर्षकमाथि कार्यपत्र प्रस्तुत गरे।
साझा साहित्य संरक्षण संस्थाका सचिव रुस्तम शर्माद्वारा संचालित समापन दिनको संगोष्ठीलाई सम्बोधन गर्दै नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङले दुइ दिने संगोष्ठीलाई सफल बनाउन सहयोग पुराउने सबैप्रति आयोजक पक्षबाट हार्दिक आभार व्यक्त गरे।

आजको दोस्रो दिन वरिष्ठ साहित्यकार टीबी चन्द्र सुब्बाद्वारा लिखित पुस्तक भारतीय नेपाली साहित्यका निर्माता हायमनदास राई किरात नामक पुस्तकको लोकार्पण कार्यक्रमका अतिथिहरूको बाहुलीबाट गरियो।
स्मरण रहोस् पहिलो दिनको पहिलो सत्रको अध्यक्षता डा. जीवन नाम्दुङ, पूर्व संयोजक साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिले गरेका थिए भने यस सत्र अवधि 'भारतीय नेपाली साहित्यमा किरातको स्थान' शीर्षकमाथि सपन प्रधान (खरसाङ महाविद्यालय) ले कार्यपत्र प्रस्तुत गरे। त्यसरी नै सुजाता रानी राईद्वारा अध्यक्षता गरिएको दोस्रो सत्रमा विजय ब्लोन (गोरुबथान) ले 'हायमनदास राईको जीवनी र उनको साहित्यिक योगदान' अनि समिर राई शान्ति (गोरुबथान) ले 'प्रकाशनका रुपमा हायमनदास राई किरात' सीताराम काफ्ले (कालेबुङ) ले 'किनाराकृत केही नमिलेका रेखाहरू: एक अध्ययन' शीर्षकमाथि आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। पहिलो दिनको कार्यक्रमलाई देबेन्द्र कुमार दिवेश पश्चिम बंगाल क्षेत्रीय सचिव साहित्य अकादमी, सुवास सोताङ सदस्य नेपाली भाषा परामर्श समिति, तरूण राई सभापति साझा साहित्य संरक्षण संस्था, हायमनदास राई किरातकी छोरी लक्ष्मी राई आदिले सम्बोधन गरेका थिए। संजय प्रधानद्वारा संचालित पहिलो दिनको कार्यक्रममा साझा साहित्य संरक्षण संस्थाका सचिव रुस्तम शर्माले धन्यवाद ज्ञापन गरेका थिए

कार्यक्रममा साहित्य अकादमी क्षेत्रीय सचिव पश्चिम बंगाल राज्य देवेन्द्र कुमार दिवेश, गोरूबथान लगायत सिक्किम , दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी, डुवर्स आदि क्षेत्रका साहित्यकार, साहित्यानुरागी, शोधार्थी, विभिन्न साहित्यिक संस्थान, विद्यालय, महाविद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरूको उपस्थिति रहेको थियो।